ब्याडमिन्टन स्टार प्रिन्सको लोभ लाग्दो सफलता , विश्व वरीयतामा सातौं

अन्य खेल

काठमाडौं : नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनमा सनसनीपूर्ण छलाङ मारेका छन्। बिडब्लुएफ जुनियर वरियतामा उनले यो साता शीर्ष साता आफूलाई उभ्याउन सफल भए। केही समयअघि विश्व जुनियर वरियतामा टप टेनभित्र छिर्दै इतिहास रचेनका प्रिन्सले बुधबार जारी नयाँ वरियतामा सातौं स्थानमा उक्लिँदै आफ्नो लोभलाग्दो फड्को कायम राखेका छन्।

१६ वर्षीय प्रिन्स जर्मनीमा सम्पन्न जुनियर इन्टरनेशनल सिरिजमा फ्रेञ्च खेलाडीसँग पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएका थिए। तर, सिरिजमा उनले हात पारेका लगातार तीन जितका कारण वरियता सुध्रिएको हो। त्यसअघि उनले नेदरल्याण्ड्मा पनि क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए। प्रिन्सले १० हजार ४०० अंक बनाएर सातौं स्थानमा आफूलाई उभ्याए।

सिनियर वरियतामा उनी ४४५औं स्थानमा छन्। विश्व जुनियर वरियताको अग्रस्थानमा फ्रान्सका क्रिस्टो पोपोभ कायमै छन्। उनको २१ हजार ८८० अंक रहेको छ। गत जनवरीमा नेपालमै भएको प्रेसिडेन्ट कप इन्टरनेशनल च्याम्पियनसिपको फाइनल पुगेका प्रिन्स ११औं स्थानमा रहेका थिए। उक्त फाइनलमा उनी भारतका मिराओ लुवाङसँग १६–२१, २३–२१, १५–२१ ले पराजित भएका थिए। उनी पछिल्लो दुई वर्षयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। टप २० मा उनी १८औं हुँदै १४ औं स्थानमा पुगेका थिए। विश्व ब्याडमिन्टनको जुनियर र सिनियर दुवै गरी उत्कृष्ट वरियतामा रहने प्रिन्स नेपाली ब्याडमिन्टन इतिहासका एक्ला खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *