कोरोनाको कारण भारत र दक्षिण अफ्रिकाबीचको म्याच रद्द

क्रिकेट

नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि खेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै लेखका छन् ।

भारत र दक्षिण अफ्रिकाबीच बाँकी दुई खेल लखनउमा १५ मार्च र कोलकातामा १८ मार्चमा खेल्ने तय भएको थियो । बिहीबारको पहिलो खेल वर्षाका कारण स्थगित गरिएको थियो । यसअघि बीसीआईले यी दुई खेल दर्शकबिनाको खाली स्टेडियममा खेलाउने निर्णय गरेको थियो ।

खेल मन्त्रालयले पनि कोरोना संक्रमणको जोखिम रहने भन्दै खाली स्टेडियममा खेल खेलाउन ठीक हुने बताएको थियो । तर, पछिल्लो खबरअनुसार उक्त म्याच अब रद्द गरिएको छ ।

कोरोना भाइरसकै कारण भारतमा हुने आईपीएल क्रिकेट दुई साता पछि सारिएको छ । कोरोना भाइरसका कारण भारतमा दुई जनाको मृत्यु र ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *