कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

फुटबल

लन्डन । इंग्लिस क्लब चेल्सीले ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका प्लेमेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । चेल्सीले लोनमा बायर्नमा रहेका कौटिन्हो अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासँग छलफल प्रक्रिया अघि बढाइसकेको छ । कौटिन्हो २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । कौटिन्होले त्यहाँ पहिलो रोजाइमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । त्यसपछि उनलाई बार्सिलोनाले लोनमा बायर्न पठाएको थियो ।

२०१३ देखि २०१८ सम्म लिभरपुलमा सनसनीपूर्ण प्रदर्शन गरेका कौटिन्होले बार्सिलोनामा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा त्यतिबेलाका बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भालभेर्डेले उनलाई एक सिजनका लागि लोनमा बायर्न पठाएका थिए । स्पेनिस एएस पत्रिकाका अनुसार चेल्सीले कौटिन्होको लागि क्लबसँग छलफल गरिसकेको बुझिएको छ ।

कौटिन्होको यसै समरमा लोन समयावधि सकिदैछ । त्यसपछि उनी पुनः बार्सिलोनामा फर्कने सम्भावना छ । तर, प्रशिक्षक क्विके सेटिनको पहिलो रोजाइमा पर्न कौटिन्होलाई गाह्रो छ । २७ वर्षे कौटिन्होले बायर्नमा उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन बायर्नबाट ३२ खेल खेल्दै ९ गोल र ८ असिस्ट दिएका छन् ।

उनेल बुन्डेस लिगाको २२ मध्ये १५ खेलमा पहिलो रोजाइमा मौका पाएका छन् । जसमा उनले ८ गोल गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् । बायर्नले जर्मन बुन्डेस लिगमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिएको छ । विश्वव्यापी बनेको कोरोना भाइरसका कारण अहिले विश्व खेलकुद गतिविधि नै ठप्प छ । ठूला लिगका खेलहरू कम्तिमा अप्रिल ३ सम्मको लागि स्थगित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *