दुई बर्ष अगाडि यस्तो थियो चाईनिज ताईपेबिरुद्ध नेपालको शानदार जित, अञ्जन विष्टले गरेका थिए दुई गोल

फुटबल

काठमाडौं। ‘फिफा विश्वकप २०२२’ तथा ‘एसिया कप २०२३’ छनोट अन्तर्गत आज नेपालले चाइनिज ताइपेइसँग कुवेतको ‘जबर अल- हमद अन्तराष्ट्रिय रंगशाला’मा प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ। नेपाली टोली इराकमा मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको हो । शनिबार भएको खेलमा नेपाल इराकसँग ६–२ गोलले पराजित भएको थियो । इराक र कुवेतको वातावरण उस्तै रहेकाले नेपाललाई केही सहज हुन सक्नेछ ।

आज हामी दुई बर्ष अगाडि नेपालले ताइपेईबिरुद्ध हासिल गरेको शानदार जितको चर्चा गर्दैछौ । तारिख १९ सेप्टेम्बर २०१९ मंगलबार नेपाल भन्दा तुलनात्मकरुपमा बलियो मानिएको चाइनिज ताइपेइविरुद्ध नेपाल मैदानमा उत्रिएको थियो । चाइनिज ताइपेइकै मुन्सिपाल स्टेडियममा भएको खेलमा नेपालले शानदार जित हासिल गरेको थियो । नेपाली टिमको कमाण्ड सम्हालेका योहान कालिनले पहिलो जित आत्मसाथ गर्दा नयाँ कप्तान किरण चेम्जोङले पनि पहिलो नै जित हात पारेका थिए ।

नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरेका थिए । खेलको सुरुवातमा नै गोल खाएको ताइपेइले खेलमा फर्कन निकै प्रयास गरे पनि बारम्बार नेपाली खेलाडीहरु बाधक बने । २२ औं मिनेटमा ताइपेइको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

त्यसपछि ४१ औं मिनेटमा फेरी ताइपेईको शसक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै रोकेका थिए । लगातार नेपाली पोस्टमा ‘मुभ’ बनाएको ताइपेईले ४३ औं मिनेटमा डिबक्सबाट गोल गर्ने अबसर पाएको थियो । तर प्रहार पोष्ट बाहिरिए पछि नेपालसँग पहिलो हाफमा बराबरी गर्ने अबसर ताइपेईले गुमाउन पुग्यो ।

४४ औं मिनेटमा नेपालका रवी पासवानको प्रहार पनि ताइपेईको पोष्ट नजिकैबाट बाहिरीएको थियो । काउन्टरमा ताईपेईको प्रयासमा नेपालको डिफेन्सले ब्लक गरेको थियो ।पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा पनि आक्रामक खेल्दा नेपाल भने डिफेन्सिभ देखिएको थियो । तर त्यो डिफेन्सिभ लाइन अप भने नेपालले धेरै बेर निरन्तरता भने दिएन । ताइपेईले पाएको ५२ औं मिनेटको मौकालाई नेपाली डिफेन्स लाइनले क्लियर गरेको थियो ।

यसका साथै ५४ औं मिनेटमा ताईपेईको उत्कृष्ट फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचाएको थियो । दोस्रो हाफमा अधिकांश समय नेपाली पोस्ट वरिपरि बल घुमे पनि जालि भने चुमाउन ताइपेई असफल भएको थियो । मंगलबारको खेलमा किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली टिमको कप्तानी समेत गरिहेका किरणले ताइवानको प्राय प्रहारलाई असफल बनाएका थिए ।

खेलको ६२ औं मिनेटमा नेपालले दोस्रो गोल थपेको थियो । नेपालका लागि फेरि पनि अञ्जनले गोल गर्न सफल भए । उनले डिबक्स भित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गरेका थिए । ६८ औं मिनेटमा नेपालले फेरी अर्को मौका पाएपनि रवी पासवानले बल कन्ट्रोल भने गर्न सकेनन् । ७२ औं मिनेटमा ताइपेईले फेरि पाएको गोलको अवसरमा उसका कप्तान असफल बने । ७६ औं मिनेटमा नेपालका लागि विमल घर्तिमगरको प्रहारलाई ताईपेईका गोलकिपरले बचाए । ८६ औं मिनेटमा नेपालले अर्को आक्रामणको अवसर बनाए पनि विमल असफल भए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
9
+1
2
+1
2
+1
2
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *