कस्तो छ नेपालसँग भिड्न लागेको जोर्डनको फुटबल टिम ? नेपालभन्दा कति बलियो ?

फुटबल

काठमाडौं । एसिया २०२३ र विश्वकप २०२२ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

जोर्डनका मुख्य प्रशिक्षक भिटल बोर्केलमन्सले आफूहरुले तीन अंक लिने अपेक्षा गरे पनि फुटबलमा जे पनि हुन सक्ने बताएका छन्। ‘हामी सबैले तीन अंकको अपेक्षा गरेका छौं। तर यो फुटबल हो। जे पनि हुन सक्छ,’ प्रशिक्षक भिटलले भनेका छन्, ‘मैले नेपालले इराक र चाइनिज ताइपेइसँग खेलेको हेरेँ। उनीहरुको खेलको स्तर र खेल्ने तरिका फेरिएको छ।’

इतिहासको हिसाबले हेर्ने हो भने जोर्डन बलियो टोली देखिन्छ। सन् १९४९ मा जोर्डनको फुटबल एसोसिएसन बनेको थियो भने फिफामा सन् १९५६ मा सदस्य भएको थियो। विश्वकपमा अहिलेसम्म नपुगेपनि एसियन कपमा क्वाटरफाइनलसम्म पुगेको अनुभव जोर्डनसँग छ। सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो ।

सन् २००४ र २०११ मा जोर्डनले एसियाली कपको क्वाटरफाइनलको यात्रा तय गरेको थियो। समूह बी मा ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदै शीर्षस्थान दुईको होडमा कायम छ। विश्वकप क्वालिफायर्सको तयारीलाई लिएर जोर्डनले धेरैवटा मैत्रीपूर्ण खेलसमेत खेलिसकेको छ।

नेपालसँग खेल्नुअघि जोर्डनले मे ३१ मा भियतनामसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा १-१ को बराबरीमा रोकिएको थियो। त्यसअघिका मैत्रीपूर्ण खेलमा जोर्डनले यूएईलाई ५-१ को फराकिलो अन्तरले हराएको थियो भने बहराइनलाई २-१ ले र लेबनानलाई १-० ले हराएको थियो। यद्यपि त्यसअघिको खेलमा ओमनसँग गोलरहित वरावरी र उज्वेकिस्तानसँग २-० को पराजय ब्यहोरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
4
+1
2
+1
1
+1
4