आज ९:४५ बजे एरिक्सनको डेनमार्क र लुकाकुको बल्जियमबिच भिडन्त ! कसले मार्ला बाजी ?

फुटबल युरो कप

काठमाडौं । युरोकप फुटबल अन्तर्गत कोपनहेगनमा आज ९ः४५ मा डेनमार्क र बेल्जियम भिड्दैछन् । समूह ‘बी’को शीर्ष स्थानमा रहेको बेल्जियम डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान बनाउन चाहन्छ। फिफा वरियताको पहिलो नम्बरमा रहेको बेल्जियम प्रतियोगिताकै दाबेदार हो ।

बलियो टोली बेल्जियमलाई रोक्दै डेनमार्क पहिलो जितको खोजीमा हुनेछ। अंकविहीन डेनमार्क समूह चरणको पुछारमा छ। फिनल्यान्डसँगको खेलको पहिलो हाफमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनलाई हृदयघात भएको थियो जसका कारण केही समय खेल रोकियो। मैदानमै अक्सिजनसहितको प्रारम्भिक उपचारपछि एरिक्सनलाई अस्पताल लगिएको थियो। उनको होस् खुलेपछि डेनमार्क फेरी मैदान फर्किएको थियो।

डेनमार्कलाई दोस्रो चरणमा पुग्ने आशा बलियो बनाउन आज जित निकाल्नुपर्ने जरुरी छ । जो सहज छैन । घरेलु मैदानमा खेल हुने भएकाले अवश्यक पनि डेनमार्कको मनोबल भने उच्च हुनेछ । फेरि फिनल्यान्ड विरुद्ध युरोको पहिलो खेल गुमाए पनि त्यसअघि भने उसको प्रदर्शन उत्कृष्ट थियो । डेनमार्कले त्यसअघि खेलेका ५ खेलमध्ये एकमा बराबर र चारमा जित हासिल गरेको थियो । यता, बेल्जियमले पनि पछिल्लो ६ खेलमध्ये चारमा जित र दुईमा बराबरी खेलेको छ ।

हेड टु हेडलाई हेर्ने हो भने दुवै सन्तुलित टोली हुन्। हालसम्म डेनमार्क र बेल्जियम दुवैले ६–६ खेल जितेका छन् भने ३ खेल बराबरीमा टुंगिएको छ। युरोपियन च्याम्पियनसिपमा यी दुई टोली ५ पटक भेट भएका छन्। डेनमार्कले ३ खेल जित्दा २ खेल गुमाएको छ। सन् २०२० को यूईएफए नेसन्स लिगमा भएको दुई भेटमा बेल्जियमले बाजी मारेको थियो।

प्रभाव पार्न सक्ने खेलाडी

यू–१५ देखि नै बेल्जियमको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका रोमेलु लुकाकु आज हुने डेनमार्कविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले युरोकपको पहिलो खेलमा रसियाविरुद्ध दुई गोल गरेका थिए। लुकाकुले राष्ट्रिय टोलीबाट ९४ खेल खेल्दै ६२ गोल गरिसकेका छन्। २८ वर्षीय लुकाकु हाल इटालीयन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0