डी बोअर नेदरल्यान्डको मुख्य प्रशिक्षक नियुक्त

फुटबल

काठमाडौं। आयाक्सका पूर्व प्रशिक्षक फ्रान्क डी बोअर नेदरल्यान्ड राष्ट्रिय टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। ५० वर्षे डी बोअर दुई वर्षका लागि नियुक्त भएका हुन्। यससँगै नेदरल्यान्डले कतारमा हुने २०२२ को विश्वकप डी बोअरकै प्रशिक्षणमा खेल्नेछ।

आयाक्स तथा बार्सिलोनाका पूर्व रक्षक डी बोअरले नेदरल्यान्डबाट ११२ खेल खेलेका छन्। रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षण सम्हाल्न गएपछि रिक्त स्थान डी बोअरले लिएका हुन्। डी बोअरले २०१८ मा मेजर लिग सकरको एटलान्टा युनाइटेड जानुअघि इन्टर मिलान र क्रिष्टल प्यालेसमा पनि छोटो समय प्रशिक्षण सम्हालेका थिए।

२०१० को विश्वकपमा नेदरल्यान्डले फाइनलसम्मको यात्रा तय गर्दा डी बोअरले सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए। उनको प्रशिक्षणमा आयाक्सले चारपटक लिग उपाधि जितेको छ। उनले २०१० देखि २०१६ सम्म आयाक्सको प्रशिक्षण सम्हालेका थिए।

डी बोअरको प्रशिक्षणमा नेदरल्यान्डले पहिलो खेल ७ अक्टोबरमा मेक्सिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेदरल्यान्डले नेसन्स लिगमा अक्टोबर ११ मा बोस्निया हर्जगोबिना र १४ अक्टोबरमा इटालीविरुद्ध खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0