काठमाडौं, असार १५ : युरोकपको नकआउट चरण अन्तर्गत आज इङल्याण्ड र जर्मनीबीच खेल हुदै छ । लन्डनमा हुने नेपाली समय अनुसार यो खेल राति ९:४५ बजे सुरू हुनेछ। उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । ‘ग्रुप अफ डेथ’मा रहेको जर्मनी भने समूह एफमा फ्रान्सभन्दा पछि रहेर उपविजेता बनेको थियो । समूह चरणको तीनवटै खेल घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड अपराजित रहेको थियो ।
‘हेड टु हेड’मा को बलियो ?
इंग्ल्यान्ड र जर्मनीले हालसम्म ३२ खेलमा प्रतिस्पर्धा गरेका छन् । इंग्ल्यान्डले १३ र जर्मनीले १५ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । सन् १९३०मा मैत्रीपूर्ण खेलअन्तर्गत भएको पहिलो भेटमा दुवै टोलीले ३–३ गोल गरेका थिए । सन् २०१७ मा मैत्रीपूर्ण खेलअन्तर्गत भएको पछिल्लो भेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
युरोकपमा भने इङल्याण्ड र जर्मनीको यो तेस्रो पटक भेट हुदै छ । यस अघि सन १९९६ को युरोकपको सेमिफाइनलमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि पेनाल्टीमा जर्मनीले ६-५ ले जितेको थियो । त्यसपछि सन २००० को युरोकपमा समुह चरणमा इङल्याण्डले १-० को जित हासिल गरेको थियो ।
त्यस्तै इङल्याण्डको युरोकप नकआउट चरणमा रोचक इतिहास रहेको छ । अहिलेसम्मका युरोकपमा इङल्याण्डले अहिलेसम्म ९० मिनेटका खेलमा जित हासिल गर्न सकेको छैन । अहिलेसम्म २ पटक हार बेहोरेको छ भने ४ पटक ९० मिनेट भित्र बराबरी खेलेको छ ।
इंग्ल्यान्ड र जर्मनीबीच वेम्बली स्टेडियममा हुने लागेको यो १३ औँ खेल हो । यसअघिका १२ खेलमध्ये जर्मनीले ६ र इंग्ल्यान्डले ४ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ ।