पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

क्रिकेट

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग शर्मनाक हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो । बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे ।

यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै सेल्डोन कट्रेलले दुई विकेट लिँदा मोहमद स्वामी र गेलेन म्याक्सवेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने । यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । बैंगलोरका बलर शिभम दुबेले २ विकेट लिए भने युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।

जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । आइपिएलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0