नेपाल भर्सेज भारत ! दोस्रो खेलमा स्पष्ट जित हासिल गर्ने नेपालको लक्ष्य

फुटबल

काठमाडौं । नेपाल र भारतविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसअघिको पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ ।

पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने मौका छ । भारतीय प्रशिक्षक इगोरले आइतबारको दोस्रो खेलमा नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् । उनले पहिलो दिनको पहिलो हाफमा आफ्ना खेलाडी चल्न नसकेपछि ४६औँ मिनेटमै तीन खेलाडी परिवर्तन गरेका थिए । नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यु गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेले ।

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ ।

हालसम्म यी दुई टोलीले २० खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल मात्र २ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । नेपाल र भारतले पहिलोपटक सन् १९८५ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए। यो खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार भएको पछिल्लो भेटमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए ।

नेपालले पछिल्लोपटक सन् २०१३ को साफ च्याम्पियनमा २–१ को जित हात पारेको थियो । त्यसयता भएका ५ खेलमा ३ खेल गुमाउँदा २ खेल बारबरीमा सकिएको थियो । नेपाललाई घरेलु मैदानमा विगतलाई बिर्सदै भारतमाथि जित हात पार्ने सुनौलो अवसर मिलेको छ । त्यसलाई उसले सदुपयोग गर्ला वा नगर्ला त्यो त आजको खेलले नै बताउनेछ ।

२५ सदस्यीय नेपाली टिम

गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, अञ्जन विष्ट, विशाल राई, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपर्कोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ
स्ट्राइकर : आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा

भारतीय टोली

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह
डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीष बोस, सेरिटन फर्नान्डेज
मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेससिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपीन सिंह
स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0