नेपालले जित्यो त्रिकोणात्मक सिरिज, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

क्रिकेट

काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेको हो । २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स नेपालको कसिलो बलिङसामु टिक्न सकेन । १७ ओभर ३ बलमा सबै विकेट गुमाएर नेदरल्याण्ड्स ९६ रनमा समेटियो ।

उसका लागि सेबास्टियन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । म्याक्स ओ डाउडले २० र पिटर सीलारले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । यो नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि दक्षिण एसियाली खेलकुदमा भुटानलाई २ सय ३६ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।

यस्तै दीेपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाएर अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शाहले १६ रनमा पेभेलियन फर्किए । बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोसिभानले २ तथा सेबस्ट्यान्ट ब्राटले १ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0