नेपाली चेलिहरु आज तुलनात्मक बलियो फिलिपन्ससँग भिड्दै, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि यसै साता नेपाली टिम उज्वेकिस्तान पुगेको हो । छनोटका प्रतिस्पर्धालाई नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्षमता देखाउने अवसर रहेको बताएका छन् ।

गत साता काठमाडौंमा नेपालले खेलेको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल जितेको थियो भने अर्काे खेल बराबरीमा सकिएको थियो। आज दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

त्यसो त फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा भन्दा धेरै अगाडि छन्। फिलिपिन्सको महिला टोली ६८ औं स्थानमा छ भने हङकङको टोली ७६ औं स्थानमा छ। नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपेको बताए।

‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त छौं,’ ग्यारीले भने । छनोटका तीन खेलपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको टिमले एएफसी वुमेन्स एसियाकपमा प्रवेश पाउनेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0