नेपाली चेलि स्नेहा लिम्बु जसले आज नेपालबिरुद्ध हकङकबाट खेल्दैछिन्

फुटबल

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत नेपाली टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दै छ। उज्जेकिस्तानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ। आजको खेलमा हङकङसँग पराजित भएको खण्डमा नेपालको एसिया कप खेल्ने सम्भावना समाप्त हुनेछ ।

ताश्केन्त पुगेर एक खेल पनि नखेलेको हङकङ फ्रेस भएकाले आजको खेलमा नेपाललाई कठिन चुनौती हुने निश्चित छ । हङकङबाट आजको खेलमा नेपाली मूलकी स्नेहा लिम्बुले पनि खेल्ने सम्भावना छ । प्रवासी नेपालीकी छोरी स्नेहाले विद्यालय स्तरीय फुटबलबाट ‘सिटिजन्स’ क्लब हुँदै हङकङको राष्ट्रिय टोलीबाट डेब्यू गरिसकेकी छन् ।

कम उमेरमै क्षमता देखाएकी स्नेहालाई हङकङ महिला टिमको भविष्यको रुपमा हेरिएको छ। आफ्ना बुबाको प्रेरणाका कारण स्नेहा फुटलतर्फ आकर्षित भएकी हुन्। ‘हाम्रो लागि फुटबलले धेरै अर्थ राख्छ। मेरो बुबा बाल्यकालमा फुटबल खेल्नुहुन्थ्यो। तर उहाँ घाइते हुनु भयो। त्यो बेला नेपालमा उहाँले सहयोग पाउनु भएन। त्यसैले उहाँले आफूले गर्न नसकेको कुरा हामीले गर्न खोज्यौ भने सहयोग गर्छु भन्नु हुन्थ्यो,’ स्नेहालाई उधृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

स्कुल पढ्दा फुटबलमा प्रवेश गरेकी स्नेहा पहिलो पटक हङकङको यु-१४ टिममा परेकी थिइन्। फुटबल खेल्न सहयोग गर्ने बताएका उनका बुबाले सुरुमा भने फुटबल खेल्ने उनको प्रस्ताव विश्वास गरेका थिएनन्। ‘सुरुमा बुबाले ममाथि विश्वास गर्नु भएन। त्यसैले मैले मेरो स्कुलका प्रशिक्षकलाई भन्नु परेको थियो। उहाँले बुबालाई बोलाएर मैले फुटबल खेल्ने कुरा बताउनु भयो। त्यसपछि बुबा खुसी हुनु भयो,’ उनले भनेकी छिन्,’राष्ट्रिय टिमबाट खेल्दा निकै राम्रो लाग्छ। म राष्ट्रिय टिमका लागि केहि उपलब्धि दिलाउन चाहान्छु। जस्तो एसियन गेम्स वा अरु ठूला प्रतियोगिता जित्न चाहान्छु।’

सुरुमा स्कुलमा उनले फाइभ ए साइड फुटबल प्रतियोगिता खेलेकी थिइन्। त्यति बेला देखि नै उनी ब्राजिलियन फरवार्ड नेइमारकी फ्यान थिइन्। ‘नेइमारले खेल्ने शैलीको ठूलो फ्यान हुँ। जब उसले आफ्नो कला देखाउँछ, गोलका लागि पास दिन्छ र अरु धेरै थोक गर्छ मेरो उत्साह र खुसी बढ्छ। धेरै खेलाडीले त्यस्तो गर्न सक्दैन। तर नेइमारले गर्न सक्छ,’ उनी भन्छिन्।

फुटबलमा करिअर बनाउने लक्ष्य राखेकी स्नेहा विश्व स्तरिय क्लबबाट खेल्न चाहन्छिन्। ‘मेरो अहिलेको सिजनको लक्ष्य लिगको उपाधि जित्ने हो। राष्ट्रिय टिमका लागि कडा परिश्रम गरेर उत्कृष्ट खेल्नु हो। हामी जित्न मात्र चाहादैनौ टिमको प्रदर्शनमा पनि सुधार ल्याउन चाहान्छौं। यस्तै म स्पेनिस क्लब बार्सिलोना वा अरु विश्वस्तरिय क्लबबाट खेल्न चाहान्छु,’ उनको भनाइ छ।

यद्यपि, हङकङको टोलीका केही महत्त्वपूर्ण खेलाडीले आजको खेल गुमाउने छन् । हङकङकी कप्तान चान विङ्ग–स्जसहित टोलीका सिनियर खेलाडी चुङ्ग वाई–की, युई हेइ–म्यान र वाइ युन–टिङ विविध कारणले अनुपस्थित रहने छन् ।

फिफा वरियतामा हङकङ ७६ औं स्थानमा रहेको छ भने नेपाल १ सय १ औं स्थानमा रहेको छ । हाल फिलिपिन्स १ खेलबाट ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । अङ्कविहिन नेपाल समूहको पुछारमा छ । समूहको शिर्ष स्थानमा रहने टोली एसिया कपको लागि छनोट हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged