मनिष डाँगीको उत्कृष्ट गोलमा माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सलाई घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको छ। वैकल्पिक खेलाडी मनिष डाँगीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोलमा नेपालले सुखद सुरुवात गरेको हो ।

नेपाल यू–१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । विशाल राईले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट फिनिसिङ गरेका थिए। मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए। राष्ट्रिय टोलीका लागि मनिषको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । उनले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि गोल गरेका थिए ।

त्यसअघि खेलको ७९ मिनेटमा आयोजक माल्दिभ्सले अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो। हसन नाइजले सिक्स यार्डबाट हानेको प्रहार आकासिएको थियो। ७६ मिनेट अली फैजरको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे। सुरुवातदेखि नेपालमाथि हाबी भएको माल्दिभ्सका अली अस्फाक पाएका अवसरमा चुकेका थिए।

अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग, तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0