नेपालको लागि सर्वाधिक गोल गर्ने अन्जन बिष्टको चाहना, होला त पुरा ?

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् । साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेपछि पोस्ट म्याच कन्फ्रेन्समा यस्तो चाहना व्यक्त गरेका हुन् ।

खेलपछि अञ्जनले भने, ‘‘अहिले १३ गोलमा अल्झिराखेको छ । नेपालमा स्ट्राइकरले मात्र गोल गर्छ भन्ने मान्यता थियो । तर, स्ट्राइकरले मात्र होइन, मिडफिल्डरले पनि गोल गर्न सक्छ । हाम्रो अहिलेको प्रशिक्षकले पनि सबैलाई प्रेरित गरिरहनुभएको छ । आफ्नो नाममा कीर्तिमान राख्ने लक्ष्य सबैको हुन्छ । म पनि त्यसका लागि मिहिनेत गर्नेछु ।’’

नेपालबाट अहिलेसम्म सबभन्दा धेरै १३ गोल गर्ने कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा छ । तर लामो समयसम्म पनि यो कीर्तिमान तोडिन सकेको छैन । दुवैले फुटबल खेल्न छाडिसके । अहिलेको पुस्तामध्ये जुमनु राईको नाममा ११ गोलको कीर्तिमान छ । जुमनु पनि लगभग सक्रिय फुटबलबाट टाढा छन् ।

२३ वर्षीय अञ्जनले नेपाली राष्ट्रिय टोलीबाट ६ गोल गरिसकेका छन् । अन्जनले सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न अझै ७ गोल गर्नुपर्नेछ । त्यसका लागि उनले अझ मिहिनेत गर्ने प्रष्ट पारिसकेका छन् । भर्खर २३ वर्ष मात्र भएकाले अन्जनमा त्यो सम्भावना पनि छ ।

अञ्जनले विश्वकप तथा एसियन कप छनोटमा चाइनिज ताइपेईविरुद्ध तीन गोल गरेका थिए भने इराक र भारतविरुद्धको खेलमा एक एक गोल गरेका थिए । अञ्जनले सोमबार राति श्रीलंकाविरुद्ध ५१औँ मिनेटमा दोस्रो गोल गरेका थिए । उनी ‘म्यान अफ द म्याच’समेत घोषित भए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0