चितवन टाइगर्सले जित्यो ईपिएलको उपाधी, हात पार्‍यो ५० लाख नगद

क्रिकेट

काठमाडौं । पोखरा राइनोजलाई हराउँदै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलोपटक उपाधि जितेको हो।

शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, दीलिप नाथले १७ बलमा २ चौकासहित १८ रन बनाए।

सामान्य लक्ष्य पाएपनि आक्रमक खेल प्रस्तुत गर्न खोज्दा चितवनका सुरुवाति क्रमका तीन खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। चितवनका ओपनिङ ब्याट्सम्यान हसिम अन्सारी पोखराका नन्दन यादवको बलमा गोल्डेन डक भएका थिए। लगत्तै करिम जनत पनि शून्यमा आउट भए। त्यसअघि ओपनर मोहमद साहजाद १४ बलमा ११ रन जोडेर आउट भएका थिए।

पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्‌को निम्तो पाएको पोखरा राइनोजले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायो।

पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। उपाधिसँगै चितवनले ५० लाख हात पारेको छ। यता, पोखराले १५ लाखमा चित्त बुझायो।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0