अल्मुताइरीलाई फाइनल खेलमा प्रतिबन्ध, यस्तो छ कारण

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज भारतविरुद्ध हुने साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध लगाएको हो ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।

प्रमुख प्रशिक्षक अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए। यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन्।

लगातार दुई खेलमा पहेले कार्ड नपाएको अवस्थामा पनि साफले अलमुताइरीलाई प्रतिबन्ध लगाएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको बुझिएको छ । एन्फा स्रोतले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने पत्रमा उल्लेख गरेको बताइएको छ ।

साफको नयाँ नियमकै कारण अलमुताइरीले फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फरेन्समा अनुपस्थित भएको बुझिएको छ। खराब मौसमका कारण भर्चुअल रुपमा आयोजना गरिएको प्रिम्याच कन्फरेन्समा अलमुताइरीका स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको रणनीति र योजनाका बारेमा बोकेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
4
+1
9
+1
46