भारतले पाकिस्तानलाई दियो १५२ रनको लक्ष्य, अफ्रिदीले लिए ३ विकेट

क्रिकेट

काठमाडौं, कात्तिक ७ : आइसिसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको हो।

भारतका लागि कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए । भारतले खेलमा निकै खराब शुरुवात गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।

त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।

आइतबारै भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको श्रीलंकाले ६ विकेट गुमाएर १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको जितमा चरिथा असलंकाले नटआउट ८० रन बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0