स्टार खेलाडीले भरिएको वेस्ट इन्डिजले श्रीलंकासामु घुडा टेक्यो, बिश्वकपबाटै बहिरियो

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : साविक विजेता वेस्ट इन्डिज युएईमा जारी टी–२० विश्व कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि २ पटकको च्याम्पियन वेस्टइन्डिज बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।

सेख जायद स्टेडियम अबुधाबीमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले अविजित रहँदै ५४ बलमा ८१ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। शिम्रनले ८ चौका र ४ छक्का प्रहार गरे।

निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाए। क्रिस गेल १, इविन लुईस ८, रोश्टन ९ र आन्द्रे रसेल २ रनमा आउट भए। काइरन पोलार्ड शून्य, जेसन होल्डर ८ र ड्वेन ब्राभो २ रनमा आउट भए। श्रीलंकाका लागि बिनुरा फर्नान्डो, चमिका करूनारत्ने र वानिन्दु हसरंगाले समान दुई-दुई विकेट लिए। दुश्मन्था चमिरा र दासुन शनाकाले समान एक-एक विकेट हात पारे।

त्यसअघि टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्टइन्डिजका लागि आन्द्रे रसेलले २ तथा ड्वेन ब्राभोले १ विकेट लिए।

जितपछि समूहमा सबै ५ खेल खेलिसकेको श्रीलंकाको २ जित र ३ हारसहित ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यस्तै वेस्टइन्डिज ४ खेलमा १ जित र ३ हारपछि २ अंक सहित पाँचौ स्थानमा छ। समूहका सबै ५ खेल गुमाएर अंकबिहिन बंगलादेश समूहको पुछारमा रहेको विश्वकप टुंग्याएको छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0