गोल वर्षा गर्दै इङ्ल्याण्ड विश्वकपमा छनोट

फुटबल

काठमाडौं : इंग्ल्यान्ड आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गए राति सान मारिनोलाई १०-० को फराकिलो गोल अन्तरमा हराउँदै इंग्ल्यान्डले समूह आईबाट विश्वकपमा सोझै स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डको एकतर्फी जितमा कप्तान ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे। थप गोल ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले गरे। सान मारिनोका फिलिप्पो फाब्रीले एक आत्मघाती गोल इङ्ल्याण्डलाई उपहार दिएका थिए।

खेलको छैठौं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा फाब्रीले आत्मघाती गोल गर्दा इंग्ल्यान्डले अग्रता दोब्बर पार्‍यो। खेलको २७ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता तेब्बर पारे। त्यसपछि १५ मिनेट भित्र उनले थप तीन गोल गरे। ३१, ३९ र ४२ औं मिनेटमा केनले लगातार गोल गर्दै इंग्ल्यान्डको अग्रता पहिलो हाफमै ६-० मा पुर्‍याए।

खेलको ५८ औं मिनेटमा स्मिथले गोल गर्दै अग्रता ७-० मा पुर्‍याए। खेलको ६८ औं मिनेटमा रोस्सी रातो कार्ड खाएर बाहिरिएपछि मारिनो १० खेलाडीमा समेटियो। ६९ औं मिनेटमा मिङ्सले गोल गर्दै इंग्ल्यान्डको अग्रता ८-० मा पुर्‍याए। खेलको ७८ औं मिनेटमा इब्राहिम र ७९ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई १०-० ले विशाल जित दिलाए।

यस जितसँगै समूह ‘आई’ मा इंग्ल्यान्डले १० खेलबाट २६ अंक जोड्दै विश्वकपमा छनोट भयो। सान मारिनोले १० खेलमा कुनै पनि अंक जोड्न सकेन। गए रातिनै भएको समूहको अर्को खेलमा हंगेरीले पोल्याण्डलाई २-१ गोल अन्तरमा हराए पनि प्ले अफमा स्थान सुरक्षित गर्न सकेन।

हारका बाबजुत पोल्याण्ड समूहमा २० अंक जोडेर दोस्रो हुँदै प्लेअफ खेल्ने भएको छ। हंगेरी १० खेलबाट १७ अंक जोड्दै चौथो स्थानमा रह्यो। तेस्रो स्थानमा रहेको अल्बानियाको १८ अंक छ। हालसम्म कतार विश्वकपमा १० टिम सोझै छनोट भएका छन्। आयोजकको नाताले कतार पनि छनोट भइसकेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0