नेपालले जित्यो कतारविरूद्धको ऐतिहासिक टी-२० सिरिज, रुबिनाले ठोकिन् अर्धशतक

क्रिकेट

काठमाडौं : नेपाली महिला टिमले कतारविरूद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ। यो जितसँगै नेपालले खेलेको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नै आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९।३ ओभरमा ६८ रनमा अलआउट भयो। कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रनको योगदान दिँदा केरी पोनसेटले १५ रन जोडिन् । नेपालकी मध्यगतिकी बलर सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट लिइन्। रुविनाले २ विकेट लिइन्। सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्कमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरिन्। उनले ४८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडिन्।

रुविना नेपालबाट महिला टी२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ्स खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन्। कविता कुँवरले ३१ रन जोड्दा अप्सरी बेगम २३ रनमा अविजित रहिन् ।

कतारका लागि एन्जेलिन मारेले २ तथा एलिना खान, साची धडवाल र सबिजा पानायनले एक–एक विकेट लिए । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रयितयोगिताको तयारीका लागि नेपालले कतारसँग तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेको हो । कतारबाट नेपाली टोली सिधै दुबई जानेछ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0