अग्रता जोगाउन नसक्दा संकटा बराबरीमा रोकियो

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : एक गोलको अग्रता जोगाउन नसक्दा संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा संकटा हिमालयनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुव‌‌ै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन्। तर, ६०औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए। सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि रुचालले कनेक्ट गर्दै सहजै गोल गरे।

तर, त्यसको चार मिनेटमै हिमालयन खेलमा फर्कियो। ६४औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए। उनले जीवन गुरुङको क्रसमा हेडमार्फत् टप कर्नरमा उत्कृष्ट गोल गरे। यस्तै, ८४औं मिनेटमा गणेश हमालको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि संकटाले बराबरीमा चित्त बुझायो।

बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। खेलको म्यान अफ द म्याच संकटाका गोलकर्ता लक्ष्मण रुचाल घोषित भए। उनले नगद १० हजार र ट्रफी हात पारे। त्यस्तै, बराबरी खेलेका दुवै टोलीले २५/२५ हजार हात पारे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0