‘ए’ डिभिजन लिगमा आर्मी र पुलिसले बराबरी खेले

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २–१ को जित निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियो ।

५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि–किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे ।

कप्तान सुजल श्रेष्ठको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *