विश्वकप एसिया छनोटमा नेपालले आज मलेशियाको सामना गर्दै

क्रिकेट

काठमाडौं : आइसीसी वुमन्स टी- ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न मलेसियालाई जित्नुपर्नेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ । यी दुई टिमले एक अर्काविरुद्ध २०१९ मा टी-२० म्याच खेलेका थिए। जसअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ३४ रनको जित निकालेको थियो ।

विश्वकप छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा छन्। जसमध्ये सबै टोलीले तीन खेल खेल्दा यूएई तीनवटै खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ। त्यसबाहेक नेपाल र हङकङले दुई खेलमा जित र १ खेलमा पराजय ब्यहोर्दै दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै समान २ हार र १ जित निकालेका मलेशिया र भुटान चौथो र पाँचौं स्थानमा रहँदा जितविहीन कुवेत तालिकाको पुछारमा छ।

नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0