इटली र पोर्चुगलमध्ये अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने

फुटबल

काठमाडौं । कतारमा अर्को वर्ष आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । शुक्रबार निकालिएको युरोपियन क्वालिफायर ‘ड्र’ मा इटाली र पोर्चुगल एउटै समूहमा परेका हुन् । यसको अर्थ यो समूहबाट इटली र पोर्चुगलमध्ये अब एक राष्ट्रले मात्र विश्वकप खेल्ने छ ।

प्लेअफको पाथ ‘सी’ मा इटालीले पहिलो खेलमा नर्थ म्यासेडोनियाविरूद्ध खेल्नेछ भने पोर्चुगलले टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र इटाली दुवैले पहिलो खेल जिते दोस्रो खेलमा एक आपसविरूद्ध आमनेसामने हुनेछन् । जित्ने एक टोलीले मात्र अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान बनाउनेछ । पराजित टोली विश्वकप खेल्नबाट वन्चित हुनेछ । इटाली २०१८ मा सम्पन्न विश्वकपमा पनि छनोट हुन असफल भएको थियो ।

प्लेअफमा कुल १२ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा स्कटल्याण्ड र युक्रेन तथा वेल्स र अष्ट्रिया बीच पहिलो खेल हुनेछ । विजेताबीच फाइनल खेल हुनेछ । यसैगरी समूहमा बी मा रुस र पोल्याण्ड तथा स्वीडेन र चेक रिपब्लिक पहिलो खेलमा खेल्नेछ । विजेता टिमहरु बीच फाइनल खेल हुनेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन् । यस्तै विश्वकपका लागि अन्तरमहादेशिय प्लेअफको ड्र पनि सार्वजनिक भएको छ । जहाँ एसियन टिमले दक्षिण अमेरिकी टिमसँग र उत्तर अमेरिकी टिमले ओसियाना टिमसँग खेल्नेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0