मारिया सारापोभाले ब्रिसबेन ओपन खेल्ने

अन्य खेल

ब्रिसबेन : वाइल्ड कार्डमार्फत रूसी टेनिस सुन्दरी मारिया सारापोभाले सोमबारदेखि सुरु हुने ब्रिसबेन ओपन खेल्ने भएकी छन्। विश्व पूर्वनम्बर एक खेलाडी सारापोभाले चोटका कारण सन् २०१९ मा १५ खेल मात्र खेलेकी थिइन्। ३२ वर्षे सारापोभाले काँधमा चोटका कारण यस वर्ष धेरै खेल गुमाए पनि नयाँ वर्षदेखि सबै प्रतियोगिता खेल्ने बताएकी छन्।

पाँच पटककी ग्रान्ड स्लाम च्याम्पियन सारापोभाले सन् २०१९ मा युएस ओपनमा अन्तिम प्रतिस्पर्धा गरेकी थिइन्। निकै प्रतिस्पर्धात्मक रहे पनि उनी पहिलो राउन्डबाटै बाहिरिन पुगिन्। ‘ब्रिसबेनलाई अहिलेदेखि नै सम्झिराखेको छु। त्यहाँ खेल्नका लागि निकै उत्साहित छु, जुन २०२० को मेरो पहिलो खेलसमेत हुनेछ,’ सारापोभाले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्पmत सार्वजनिक गरेकी छन्।

साथै उनले उक्त खेलमार्पmत आफ्ना समर्थकसँगको भेटका लागि निकै आतुर रहेको प्रतिक्रिया दिएकी छन्। ‘मेरा समर्थकहरूलाई धैर मिस गरिरहेका छु। त्यसैले अहिलेदेखि नै प्रतियोगिता खेल्न आतुर छ र छिट्टै उक्त प्रतियोगितामा भेट हुनेछ,’ सारापोभाले भनिन्। जनवरी ६ देखि १२ सम्म हुने उक्त प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन क्यारोलिना प्लिसकोभा, विश्व नम्बर एक एस्लेघ बार्टी, नाओमी ओसाका र भेनस विलियम्स खेल्नेछन्। सन् २०१५ की ब्रिसबेन विजेता सारापोभाले यस पटक यी स्टारको चुनौती पन्छाउनुपर्नेछ।

यस खेललाई वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको वार्मअप प्रतियोगिताको रूपमा समेत हेरिएको छ। अस्ट्रेलियन ओपन आगामी जनवरी २० देखि मेलबर्नमा सुरु हुँदै छ। विश्व वरीयताको १ सय ३३औं स्थानमा रहेकी सारापोभाले अस्ट्रेलियन ओपन खेल्नका लागि भने वाइल्ड कार्ड प्राप्त गर्नुपर्नेछ। सन् २००८ की अस्ट्रेलियन ओपन विजेता सारापोभा सन् २०१६ कै अस्ट्रेलियन ओपनका क्रममा डोपिङ टेस्टमा असफल भएपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लागेको थियो।

यद्यपि, सारापोभाले मंगलबार अझैं पनि आफू लयमा फर्कन सक्षम रहेको बताएकी छन्। ‘जब म युवा थिएँ, त्यति बेला ३० वर्ष पार गरेपछि खेल्न सक्दिन जस्तो लाग्दथ्यो,’३२ वर्षीया रूसी स्टारले भनिन्,‘तर अहिले अझैं धेरै गर्न सक्छु भन्ने विश्वास छ। मसँगै अझै क्षमता बाँकी छ र चुनौतीपूर्ण प्रतिस्पर्धी बन्न सक्नेछु।’

साथै उनले आफ्नो शरीर पूर्ण रूपमा फिट भएको समेत बताएकी छन्। ‘मेरो काँध पनि दिनप्रतिदिन ठीक भएको छ। मेरो शरीरले साथ दिइरहेको छ। त्यसैले विश्वास छ, अभैm धेरै समय मैंले खेलाडीको रूपमा बिताउन सक्नेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *