अर्जुन साउदले अर्धसतकीय ठोकेपनि श्रीलंकासँग नेपालको हार

क्रिकेट

काठमाडौं, पुस ११ : यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। समूहको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग ६० रनको हार ब्यहोर्‍यो। ३ सय २३ रनको विशाल लक्ष्य पाएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन जोड्यो। नेपालले सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि हार टार्न सकेन।

विकेट किपर समेत रहेका अर्जुन साउदले अर्धसतकीय पाली खेले। अर्जुनले ६४ जोडे। प्रारम्भिक ब्याट्सम्यानद्धय सन्तोष कार्कीले ३४ र कप्तानसमेत रहेका देव खनालले २८ रन बनाए। मध्यक्रमका बासिर अहमदले ४३ र विवेक यादबले ४६ रन बनाए।

नेपालले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेको थियो। त्यसपछि अर्जुन र बासिरबीच पाचौँ विकेटका लागि ७५ रनको साझेदारी भयो। छैटौँ विकेटका लागि पनि नेपालले ४१ रनको साझेदारी गरेको थियो। नेपालले आफ्नो पालीमा ९ छक्का प्रहार गरेको थियो।

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले दुई जना ब्याट्सम्यानको सतकीय योगदानमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन जोड्यो। श्रीलंकाका सदिसा राजापाक्ष्याले एक सय ३१ र चामिन्दु विक्रमासिंघे १ सय ११ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि २ सय २३ रनको साझेदारी भएको थियो।

यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग एक सय ५४ रनको हार ब्यहोरेको थियो। नेपालले समूहको अन्तिम खेलमा अब मंगलबार कुवेतसँग खेल्ने छ। दुई खेलपछि श्रीलंका र बंगलादेशको समान ४/४ अंक रहेको छ। चार टोली रहेको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0