गोलको वर्षा भएको थ्रिलर खेलमा लेस्टरमाथि म्यानचेस्टर सिटीको शानदार जित

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा सिटीले लेस्टरलाई ६–३ को गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्के गुन्डोगान र एमेरिक लापोर्टेले समान एक/एक गोल गरे।

लेस्टरका लागि जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले गोल गरे। घरेलु मैदानमा सिटीले खेलको सुरुवाती २५ मिनेटभित्र ४–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा लेस्टरले १० मिनेटभित्र तीन गोल गरे पनि खेलमा फर्कन सकेन। खेलको पाँचौ मिनेटमा फर्नान्डिन्होको पासमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए। १४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

खेलको २१औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए। २५औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्दै सिटीलाई २५ मिनेटभित्रै ४–० को स्थितिमा पुर्याए। खेलको ५५औं मिनेटमा म्याडिसनले केलिचीको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए। लगत्तै ५९औं मिनेटमा एडेमोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। खेलको ६५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए।

खेलको ६९औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ५–३ ले अघि बढाए। ८७औं मिनेटमा स्टर्लिङले रुवेन डियासको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे। जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक पुगेको छ। दोस्रो स्थानको लिभरपुल ६ अंकले पछि पारेको छ। एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ। पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0