टी-२० विश्वकप छनोटका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

क्रिकेट

काठमाडौं । ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट छनोट समितिले ३० खेलाडी बन्द प्रशिक्षणका लागि बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको परामर्श छनोट समितिले प्रारम्भिक ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ ।

बन्द प्रशिक्षणका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि बोलाइएको छ । क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारीबाट मुक्त गरेको थियो । साथै ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल र कमलसिंहलाई सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले क्यानले निर्णय फिर्ता नलिएसम्म नखेल्ने चेतावनी दिएका थिए ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बिहीबार राष्ट्रिय जर्सीमा खेल्ने चाहना हुनेले खेल्ने र चाहना नहुनेले नखेल्ने स्पष्ट पारेका थिए । उनले कप्तान परिवर्तन गर्ने क्यानको निर्णयमा आफूले केही गर्न नसक्ने बताएका थिए । नेपालले आउँदो फेब्रुअरी १५ मा आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दै छ । समूह ‘ए’मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सन कुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0