पुलिसलाई हराउँदै मछिन्द्र एएफसी कपमा छनाेट

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे साताै चरणकाे खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपमा छानिएकाे हाे । साताैं चरणपछि शीर्ष स्थानमा रहने क्लबले एएफसी खेल्न पाउने प्रावधान अनुसार मछिन्द्र ७ खेलबाट १७ अंक जाेडेर शीर्ष स्थानमा रह्याे ।

अघिल्लाे दिन ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेर सम्भावना कायम राखेकाे थियाे । त्यसैले मछिन्द्रका लागि पुलिस विरुद्धकाे खेल जित्नैपर्ने बाध्यता थियाे । यस्ताेमा सुनिल बलले गरेको गोलमा मछिन्द्र विजयी भयो । मनाङ १६ अंकसहित दोस्रो स्थानमा रह्यो । पाचौं चरणमा मछिन्द्रले मनाङलाई हराएर शीर्ष स्थानमा उक्लिएको थियो ।

अघिल्लो सिजन च्याम्पियन भएपनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप क्वालिफायर खेल्ने अवसर गुमाएको थियो । यसपटक भने मछिन्द्रसँगै आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । यी चार क्लबमध्येमा अगाडि रहँदै मछिन्द्रले एएफसी कप छनोट खेल्ने अवसर पाएको हो ।

निर्णायक खेलमा मछिन्द्रका लागि सुनीलले २१औं मिनेटमा विशाल राईको फ्रिकिकमा हेडमार्फत गोल गरे । जारी लिगमा ५ गोल गरेका सुनील सर्वाधिक गोलकर्ता हुन् । पहिलो हाफमा मछिन्द्रले गोलका अरु दुई अवसर पनि बनाएको थियो । तर पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाए । ४३ औं मिनेटमा विशाल राईले पेनाल्टी बक्सबाट हानेको शक्तिशाली प्रहार गोलकिपर सत्रुघनले बचाए । यस्तै पहिलो हाफको ईन्जुरी टाइममा सुनील बलले हानेको लङ सट पनि सत्रुघनले पन्च गर्दै बचाए ।

६८औं मिनेटमा मछिन्द्रका मनिष डाँगीले पुलिसका गोलकिपरलाई बिट गर्दै सेकेण्ड बार च्यापेर हानेको प्रहार पोष्ट बाहिर गयो । ६९औं मिनेटमा अनमार्क रहेका पुलिसका कप्तान राम वाजीले पेनाल्टी बक्सभित्रबाट हानेको प्रहार आकाशिँदा पुलिसले मौका गुमायो । ७५ औं मिनेटमा पुलिसले खेल बराबरी गर्ने राम्रो अवसर गुमायो । पुलिसका सुमन लामाले करिब २५ यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्किएपछि मछिन्द्र भाग्यमानी बन्यो ।

७८ औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठले करिब ३५ यार्डबाट हानेको प्रहार पुलिसका गोलकिपर सत्रुघनले पन्च गर्दै बचाए । बेन्चबाट खेल सुरु गरेका नियमित कप्तान सुजल श्रेष्ठ दोस्रो हाफमा मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए । डिफेण्डरद्वय छिरिङ गुरुङ र करिम ओमालाजा भने डबल येल्लो कार्डका कारण पुलिसविरुद्ध टिममा थिएनन् ।

उनीहरुको सट्टा दिलेन लोक्तान र भारतीय खेलाडी सोनाम जाङ्गपो भुटियाले पहिलो रोजाईमा खेलेका थिए । भुटियाले ए डिभिजन लिगमा डेब्यु समेत गरे । सातौं चरणसम्म अपराजित रहेको मछिन्द्रले उपाधि होडसमेत बलियो बनाएको छ । यसअघि एनआरटी, जावलाखेल, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीलाई हराएको मछिन्द्रले

आर्मी र संकटासंग गोलरहित बराबरी खेलेको थियो । मछिन्द्रले अब लिगमा एपीएफ, बिग्रेड, फ्रेण्ड्स, सातदोबाटो, च्यासल र थ्री स्टारसंग खेल्न बाँकी छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0