सधैंको लागि कप्तानि खोसिएपछि ज्ञानेन्द्र मल्ल भन्छन्- ‘सधैंका लागि कप्तान बन्न आएको होइन’

क्रिकेट

क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन् ।

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए ।

वर्गीकरणको विषयपछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताए । मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताए ।

बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै उनले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागको सुनाए । यद्यपि आफू सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको उनको भनाइ छ ।

मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए । यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको जानकारी दिए । इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *