कोरियाली फरवार्ड सनलाई सातौं पटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’

फुटबल

एजेन्सी । इंग्लिस क्लब टोटेनहम हटस्परका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ मिनले सातौं पटक ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ जितेका छन् । उनले इरान तथा रुसी क्लब जेनिथ सेन्ट पिटर्सबर्गका सरदार अजमोन र इरान तथा पोर्चुगिज क्लब पोर्टोका मेहदी तारेमीलाई पछि पार्दै ९ वर्षमा सातौंपल्ट महादेशकै वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

उनले सर्वाधिक २४२ अंक पाए । सरदार अजमोनले १११ अंक तथा मेहदी तारेमीले ९० अंक पाए । २९ वर्षीय सनले सन् २०२१ मा सबैखाले प्रतियोगितामा २१ गोल गरेका थिए । चिनियाँ पत्रिका ‘टाइटन स्पोर्ट’ले सन् २०१३ देखि दिन थालेको बेस्ट फुटबलर इन एसिया अवार्डलाई महादेशको ‘बालोन डी’अर’ मानिन्छ ।

एसियाली फुटबल महासंघ (एएफसी) का सदस्य ४७ देशमध्ये ३७ मुलुकका विज्ञ र थप १३ अतिथि निर्णायक रहेको यस अवार्डमा उनीहरूले वर्षमा उत्कृष्ट खेल प्रदर्शन गरेका ५ खेलाडीलाई क्रमशः ६, ४, ३, २ र १ अंक दिएका थिए । उनलाई ३१ विज्ञले पहिलो स्थानमा राख्दै अंक दिएका थिए ।

सन् २०१३ देखि सुरु भएको यो अवार्डमा सनले २०१४, २०१५ र २०१७ देखि २०२१ सम्म लगातार पाँचपटक गरी सातौ पटक अवार्ड जित्न सफल भएका छन् । सन् २०१३ मा सिएसकेए मस्कोका जापानजि केइसुके होन्डा र २०१६ मा इंग्लिस क्लब लेस्टर सिटीका जापानिज मिडफिल्डर सिन्जी ओकाजाकीले यो अवार्ड जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0