मनाङको उपाधि होडमा धक्का, सातदोबाटोसँग २-१ ले स्तब्ध

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको मछिन्द्रभन्दा १ अंक कम हो ।

११ औँ मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । ३८ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थियो । ५६ औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

६९ औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो । ७३ औं मिनेटमा निशार लिम्बूको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

ईन्जुरी समयमा कप्तान अञ्जन विष्टको प्रहार गोलरक्षक अभिषेक बरालले रोक्दा मनाङले खेल बराबरीमा पुर्‍याउन सकेन । लिगमा उत्कृष्ट सुरुआताका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो । शुक्रबार सम्पन्न पहिलो खेलमा एपिएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0