संकटाको अपराजित यात्रामा पूर्णविराम, थ्रीस्टारसँग १-० ले पराजित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । विजयी भुजेलले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगमा शनिवार संकटा क्लबलाई १-० ले पराजित गरेको छ । जारी लिगमा थ्री स्टारको यो चौथो जित हो र पाटने टोलीले अपराजित यात्रालाई ७ खेलसम्म लम्ब्याएको छ । अर्कोतर्फ लगातार ८ खेलमा अपराजित रहेको संकटाको भने अपराजित यात्रा टुङ्गिएको छ । दोस्रो खेलमा सातदोबाटो युथ क्लब संग पराजित भएयता थ्रीस्टारले खेलेको ७ खेलमा कुनै खेल हारेको छैन ।

संकटालाई हराएपछि ९ खेलबाट १६ अंक जोडेर थ्रीस्टार संकटालाई नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ । थ्रीस्टारले पछिल्ला दुई खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको थियो । उता सिजनको पहिलो हारपछि संकटा भने पाँचौ स्थानमा झरेको छ । ९ खेलबाट थ्री स्टारको १४ अंक छ । तेस्रो स्थानमा रहेर दिनको सुरुवात गरेको संकटा आर्मीको जितपछि चौथो स्थानमा झरेको थियो भने थ्रीस्टारसंग हारेपछि पाँचौ स्थानमै झरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नहुँदा खेल बराबरीमा सकिने अनुमान थियो । दुवै टोलीले गोलका लागि अवसर बनाएपनि फिनिसिङ गर्न सकेको थिएन । थ्रीस्टार नियमित कप्तान विक्रम लामा र उपकप्तान अनन्त तामाङ नहुँदा अशोक खवासको नेतृत्वमा मैदान उत्रेको थियो । यस्तै युवा मिडफिल्डर आयुष घलान पनि थ्री स्टारको लाइनअपमा थिएनन् । संकटाको अट्याकलाई रोक्न सफल भएपनि थ्रीस्टारले गोल गर्न सकिरहेको थिएन । तर इन्जुरी टाइमको पनि अन्तिम सटमा विजय भुजेलले राफायल रिम बिदियसको क्रसमा गोल गर्दै थ्रीस्टारको जित पक्का गरे ।

निशान खड्काले हानेको लङ सटलाई संकटाको गोलकिपर राजुबाबु थापाले पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपछि अनमार्क रहेका रिमले बल क्रस गरे । त्यसबेलासम्म संकटाको बक्समा थ्री स्टारका ५ खेलाडी थिए । उक्त क्रसलाई विजयले निर्णायक गोलका रुपमा परिणत गरे । संकटाले पनि खेलमा गोल गर्ने अवसर पाएको थियो । पहिलो हाफमा संकटाबाट लिगको पहिलो खेल खेलिरहेका ग्लोरीले राम्रो अवसर पाएपनि फिनिसिङ चुस्त भएन । यस्तै थ्री स्टारका संजोग राईले पनि गोल गर्ने अवसर गुमाएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0