नेपाली कप्तान किरण चेम्जोङ भन्छन् : ‘मोरिससविरुद्धको मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध हार्नका लागि नखेल्ने बताएका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका थिए । त्यसैबारे सोधिएको प्रश्नमा कप्तान चेम्जोङले आफूहरु हार्न नभई जित्नकै लागि खेल्ने प्रष्ट पारेका हुन् ।

‘‘हार्नका लागि त कोही पनि खेल्दैन । हामी जित्नकै लागि खेल्ने हो । त्यसका लागि हामी मानसिक र शारीरिक रुपमा तयार छौं,’’ नेपालका कप्तान चेम्जोङले भने । कप्तान चेम्जोङले मैत्रीपूर्ण खेल भए पनि आफूले यो खेललाई हलुका ढंगले नलिने बताएका छन् । उनले थपे, ‘‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमविरुद्ध खेल्न लागेको छौं । पक्कै पनि फरक अनुभव हुनेछ । म दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रुपमा फिट छन् । मैत्रीपूर्ण खेल भनेर हलुका ढंगले लिनु हुँदैन । नतिजा पनि चाहिन्छ । यो खेलबाट हामीले धेरै सिक्नु पर्नेछ । हामी तयार छौं ।’’

नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले विगतमा भन्दा सुधारिएको प्रदर्शन गर्ने बताए । सामाजिक सञ्जालमा आउने हरेक कमेन्टको उत्तर दिन रुचाउने मुख्य प्रशिक्षक अल्मुताइरी भने एन्फाले आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा अनुपस्थित रहे । उनले थकित भएको बहाना बनाएका थिए ।

‘‘विगतमा गरिएको गल्तिलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने आश गरेका छौं,’’ सहायक प्रशिक्षक श्रेष्ठले भने, ‘‘यस खेललाई हामीले एसियन कप छनोटको तयारीका रुपमा पनि लिएका छौं । त्यसकारण पनि हामीले दुई खेलका लागि ३४ जनाको टिम बनाएका हौं । नयाँ खेलाडीहरु निस्कियो भने राष्ट्रिय टिम अझ बलियो हुन्छ भन्ने लागेका छ ।’’

सहायक प्रशक्षिक श्रेष्ठले शारीरिक रुपमा बलियो भने पनि मोरिसस र नेपाल एउटै स्तरको टिम भएको बताए । उनले आफूहरुले खेलाडीलाई हरेक पोजिसनबाट खेल्न सक्ने गरी तयार पारेको बताए । मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले खेल्न लागेको बताए । उनले नेपाल बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए ।

‘‘हामी पहिलोपटक यहाँ आएका हौं । हाम्रो राष्ट्रिय टोलीले नखेलेको धेरै समय भैसक्यो । हामीले डिसेम्बरबाट ट्रेनिङ सुरु गरेका हौं । ४५ दिनमात्र अभ्यास गरेका छौं,’’ मोरिससका प्रशिक्षक फ्रान्कोइसले भने, ‘‘नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ, आशा छ हामीले राम्रो प्रतिस्पर्धा गर्नेछौं ।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0