अल्मुताइरीले भने : ‘जितेर पनि म सन्तुष्ट छैन’ ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन्

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोलीले जित निकाले पनि आफू सन्तुष्ट हुन नसकेको बताएका छन्। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए। ‘साफपछिको नेपाली खेलाडीहरुले मुटुबाट खेले। जित महत्त्वपूर्ण छ, तर म सन्तुष्ट छैन,’ उनले भने।

फरवार्ड विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको हो। यो नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा जित निकालेको हो। नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन।

नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिबन्ध र चोटबाट करिब तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेको विमल पहिलो खेलमै गोल गर्न सफल भए। उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन्। यससँगै विमलको राष्ट्रिय टोलीमा गोल संख्या १० पुगेको छ।

मुख्य प्रशिक्षक अल्मुताइरीले विमलबाट आफूले अझ धेरै अपेक्षा गरेको बताए। ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन्। गोल गरे, खुसी छु। तर, उनी धेरै महत्त्वपूर्ण छन्। त्यसैले उनीबाट धेरै अपेक्षा गरेको छु,’ उनले भने,‘मेरो पहिलो जागिर भनेको खेलाडीलाई जोगाउने हो। हामी एउटा खेलाडीमा मात्र केन्द्रित हुँदैनौं। विमल कम्फर्टेबल भएर अर्को म्याचमा केन्द्रित हुनेछन्। उसले गोल गर्‍यो तर डर छ यो गोलले उसलाई फेरि पछि नपारोस्।’

मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा केही खेलाडी परिवर्तन गर्ने बताएका छन्। शनिबारको खेलमा प्रशिक्षक अल्मुताइरीले अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी, सुमन लामा, देवेन्द्र तामाङ, दिनेश राजवंशी र किरणकुमार लिम्बू जस्ता पहिलो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
10
+1
1
+1
4
+1
1
+1
9
+1
4