वेस्ट इन्डिजमाथि भारतको सहज जित, रोहित शर्मा हिट, कोहली सुपर फ्लप

क्रिकेट

काठमाडौं । कप्तान रोहित शर्माको अर्धशतक तथा युजभेन्द्र चाहलको चारविकेट प्रेरित भारतले आइतबार वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको वेस्ट इन्डिजले ४३.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्य घरेलु टोली भारतले २८ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो ।

भारतका कप्तान रोहित शर्माले ५१ बलमा १० चौका र एक छक्कासहित ६० रन बनाए । रोहितले इशान किशनसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । इशान किशनले २८ रन बनाए । पूर्व कप्तान विराट कोहली ८ र विकेटकिपर रिशभ पन्त ११ रनमा पवेलियन फर्किएका थिए । सूर्यकुमार यादव ३४ र दीपक हूडा २६ रनमा अविजित रहे । दुईले पाँचौँ विकेटका लागि ६२ रनको अविजित साझेदारी गरेका थिए । हूडाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई र अकिल होसैनले एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजका लागि जसोन होल्डरले सबभन्दा धेरै ५७ रन बनाए । फाबियन एलेनले २९ रन बनाउँदा डारेन ब्राभो र निकोलस पूरनले समान १८ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका चाहलले ९.५ ओभरमा ४९ रन दिएर चार विकेट लिएका थिए । वासिङ्टन सुन्दरले ९ ओभरमा एक मेडन सहित ३० रन दिएर तीन विकेट लिए । प्रसिद्ध कृष्णले दुई र मोहम्मद सिराजले एक विकेट लिए । भारत भ्रमणमा रहेको वेस्ट इन्डिजले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल २६ गते खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0