फ्रेन्ड्सलाई हराउँदै खप्तड गोल्डकपको उपाधि मनाङले जित्यो

फुटबल

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए । खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।

तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए । उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको भने उपविजेता फ्रेन्ड्सले १० लाखमा चित्त बुझायो । सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोली सहभागी थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0