भारतसामु नेपाली चेलिहरुको शर्मनाक हार, भारतले दनादन ठोक्यो ७ गोल

फुटबल

तेस्रो संस्करणको साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ। मंगलबार राति भारतको जम्देशपुरमा भएको खेलमा नेपाललाई आयोजक भारतले ७-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो। खेलको १७ मिनेटमा भारतले अग्रता लियो। उसका लागि प्रियंका सुजीशले पहिलो गोल गरिन्। दुई मिनेटपछि लिन्डा कोम सेर्तोले अग्रता दोब्बर पारेकी थिइन्। ३७ मिनेटमा लिन्डाले व्यक्तिगत दोस्रो गोल गर्दा भारत पहिलो हाफमा ३-० ले अघि बढ्यो।

७४ मिनेटमा अपूर्णाले चौथो गोल गर्दा ८१ मिनेटमा पूर्णिमाले पाँचौ गोल गर्न सफल भइन्। ८९ मिनेटमा सुनिता मुन्डाले छैटौं र इन्जुरी टाइमको तेस्रो मिनेटमा नितु लिन्डाले सातौं गोल गरेकी थिइन्। प्रतियोगितामा आयोजक भारत, नेपाल र बंगलादेश गरी तीन टिमले भाग लिएका छन्।

नेपालले आफ्नो दोस्रो खेल पर्सी बिहीबार बंगलादेशसँग खेल्नेछ। नेपालले मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। शीर्ष टोलीले उपाधि जित्नेछ। नेपाली टिमको मुख्य प्रशिक्षक दर्शनभक्त राज लावत छन्। टिमको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1