प्रशिक्षक अलमुताइरी भन्छन्- ‘थाइल्यान्डविरुद्ध नेपालले जितका लागि खेल्नेछ’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नयाँ रणनीति बनाएको बताएका छन् । एएफसी कपको छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेका कारण लिग विजेता मछिन्द्र फुटबल क्लबका खेलाडी राष्ट्रिय टोलीमा छैनन् । त्यसकारण अल्मुताइरीले नयाँ रणनीति बनाएको बताएका छन् ।

‘‘एएफसी कपका कारण मछिन्द्र क्लबका खेलाडी टिममा छैनन् । त्यसकारण हामी नयाँ रणनीतिमा हुनेछौँ । टिममा नयाँ सदस्यहरू थपिएका छन् । यो हाम्रो तयारीको उत्कृष्ट पक्ष हो । नतिजा कस्तो आउछ भन्ने हो । जित र हार त खेलको पाटो नै हो,’’ नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘‘यस भ्रमणमा हाम्रो खेलाडी घाइते नहोस् भन्ने हो । किनभने यो मैत्रीपूर्ण खेल मात्र हो । तर मलाई आशा छ हामी जित्नेछौँ ।’’

मछिन्द्रका विमल घर्तिमगर, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, मनिष डाँगी, सुनिल बल, देबेन्द्र तामाङ राष्ट्रिय टोलीमा छैनन् । लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कप छनोटअन्तर्गत श्रीलंकाको ब्लुस्टार क्लबसँग अप्रिल ५ मा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जितेमा १२ अप्रिलमा भारतीय टोली मोहन बगानसँग खेल्नेछ । उक्त खेलमा पनि जित निकालेको खण्डमा समूह चरणमा प्रवेश गर्नेछ । र, अगाडिका खेल तालिका निश्चित हुनेछ ।

मछिन्द्रका खेलाडी नभए पनि बहाना बनाउने छुट आफूलाई नभएको अल्मुताइरीले बताए । उनले थपे, ‘‘यो नेपालको राष्ट्रिय टोली हो । मछिन्द्रको खेलाडी छैन भनेर म रोएर बस्दिनँ । यो सामान्य हो । उनीहरू एसिया कप छनोटमा नभए पनि मलाई केही फरक पर्दैन ।’’

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फागुन २५ गते २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । अल्मुताइरीले टिमको तयारी राम्रो भएको र थाइल्यान्डविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण भएको बताए ।

‘‘हामीले एक हप्ता अभ्यास गर्यौं । यो मैत्रीपूर्ण खेलका लागि प्रयाप्त समय हुनेछ । थाइल्यान्ड राष्ट्रिय टिमविरुद्धको पहिले खेल महत्वपूर्ण हुनेछ । किनकि थाइल्यान्ड नेपाल भन्दा धेरै बलियो टोली हो । यसले हाम्रो वरियतामा पनि सुधार हुनेछ भन्ने लाग्छ,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘यसले विश्वकप छनोटमा पनि सहयोग गर्ला । हामी बराबरीको प्रयास गर्नेछौँ ।’’

थाइल्यान्ड फिफा वरीयाताको ११२औँ स्थानमा छ । नेपाल अहिले १६७औँ स्थानमा छ । ‘‘उनीहरू ११ खेलाडी । हामी पनि ११ । मैले थाइल्यान्डको राष्ट्रिय टिमबारे थोरै भने पनि अध्ययन गरेको छु । उनीहरू राम्रो टिम हो । तर मैत्रीपूर्ण मात्र भएकाले म धेरै फोकस गर्दिनँ,’’ अल्मुताइरीले भने, ‘‘हामीले एसिया कप छनोटका लागि तयारी गर्नुपर्ने छ । थाइल्यान्डविरुद्धको हामीले पछिल्ला तीनै खेल हारेका छौँ । थाइल्यान्डको टिममा पनि धेरै परिवर्तन भएको छ । त्यसैले हाम्रो सम्भावना छैन भन्न मिल्दैन ।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged