भारतले जित्यो यु-१८ महिला च्याम्पियनसिपको उपाधी, नेपाली चेलिहरु रित्तो हात

फुटबल

काठमाडौं : घरेलु टोली भारतले साफ यु १८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली गोल अन्तरका आधारमा च्याम्पियन भएको हो। समान अंक भए पनि गोल अन्तरमा पछि परेको बंगालदेश दोस्रो भयो। भारत र बंगलादेशले समान ४ खेलबाट ९ अंक जोडेका थिए। तर, गोल अन्तरमा भारत अघि रह्यो । भारतले च्याम्पियनसिपभर १३ गोल गर्दा २ गोल मात्रै बेहोर्‍यो। यता बंगलादेशले ७ गोल गर्दा ४ गोल बेहोर्दै दोस्रो भयो।

भारतले बंगलादेशमाथि पहिलो राउन्डमा १–० को जित निकालेको थियो। दोस्रो राउन्डमा बंगलादेशको उक्त हारको बदला लिए पनि च्याम्पियन बन्न पर्याप्त बनेन । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशलाई जिताउन एक्लिमा खातुनले निर्णायक गोल गरिन्। उनले खेलको ७४औं मिनेटमा गोल गरेकी थिइन्।

भारतकी लेन्डा कोम सेर्टोले च्याम्पियनसिपको मोस्ट भ्यालुएवल खेलाडी तथा सर्वाधिक गोलकर्ताको अवार्ड जितिन्। उनले च्याम्पियनसिपमा कुल ५ गोल गरेकी थिइन्। बंगलादेशले फेयर प्ले अवार्डसमेत जित्यो। च्याम्पियनसिपमा नेपाल भने सबै खेलमा पराजित हुँदै अंकविहीन भएर प्रतियोगिताबाट घर फर्किएको छ।

नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्‍यो भने मात्र ४ गोल गर्न सक्यो। नेपालले पहिलो खेलमा आयोजक भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र पुनः भारतसँग तेस्रो खेलमा ५–१ र अन्तिम खेलमा बंगालदेशसँग २-१ ले पराजित भएको थियो । मार्च १५ देखि २५ सम्म भएको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0