लिग बिजेता मछिन्द्रलाई स्तब्ध पार्दै पिप्ले युवा क्लबले जित्यो राजर्षि जनक गोल्डकपको उपाधि

फुटबल

काठमाडौं । छैठौं राजर्षि जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध पार्दै हेटौंडाको पिप्ले युवा क्लब दोस्रो पटक विजयी भएको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा भएको छैठौं संस्करणको राजर्षि जनक गोल्डकप फाइनल खेलमा पिप्लेले टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र साविक विजेता पिप्ले युवा क्लब विच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले समान गोलको अवसर पाए पनि गोलमा परिणत गर्न भने सकेनन् । त्यस्तै खेलको दोस्रो हाफको सुरुवाती ६ मिनेटमा पिप्ले युवा क्लबका अमिर श्रेष्ठले डिबक्स नजिकैबाट हानेको फ्रिकिक बल विपक्षी टिमको पोष्टबार माथिबाट जादाँ गोल हुनबाट चुक्यो ।

त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले ८ औ मिनेटमा विपक्षी टिमको खेलाडी छल्दै विमल थापा मगरलाई पास दिँदा अफसाईड हुन पुग्यो । निकै रोमाञ्चक भएको प्रतियोगिताको फाइनल खेलको ३४ औ मिनेटमा मछिन्द्रका यानद्रियोस नियोकले फलगर्दा पिप्ले युवा क्लबले राम्रो अवसर पाएपनि रोप बहादुर लामाले हानेको बल मछिन्द्रका गोल रक्षक विशाल राईले उत्कृष्ट बचाउ गरे ।

पिप्लेको गोलपोष्ट नजिकै मछिन्द्रका खेलाडी यानद्रियोस नियोकले वान भर्सेस वानमा विमल घर्ती मगरलाई दिएको बललाई विमलले गोलमा परिणत गर्न सकेन्न । दुवै टिमले खेलको निधारित सयममा गोल गर्ने समान अवसर पाएपनि गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा मछिन्द्र क्लबबाट सुजल श्रेष्ठ , विजय धिमाल र करिमले ३ गोल गरे । त्यस्तै विमल घर्ती मगर र देवेन्द्र तामङ्गको बल पिप्लेका गोल रक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे । त्यस्तै पिप्लेबाट अशोक खवास,समिर राज थोकर र अमिर श्रेष्ठले ३ गोल गर्दा कुलदिप कार्कीको बल पोष्टबार माथिबाट बाहिरियो र माट्रिनको बल मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

दुवै टिमको ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमा पिप्लेका तर्फबाट रोप बहादुर लामाले थप १ गोलगर्दा मछिन्द्रका छिरिङ गुरुङको प्रहार बल क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाको गोलनै निर्णायक सावित हुन पुग्यो र ४–३ गोल अन्तरले हेटौंडको पिप्ले युवा क्लबले दोस्रो पटक राजर्षी जनक गोल्डकपको विजेता बन्न पुग्यो । प्रतियोगिताको विजेता पिप्लेले १० लाख १ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५ सय नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

आज भएको फाईनल खेलको म्यान अफ द म्याच पिप्लेका गोल रक्षक अशोक बराल घोषित भए यस्तै प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
1
+1
0