एएफसी कपको प्रारम्भिक चरणबाटै बाहिरियो नेपालको लिग च्याम्पियन मछिन्द्र

फुटबल

काठमाडौं : श्रीलंकाको ब्लू स्टार एससीले एएफसी कप छनोट २०२२ को प्लेअफमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्लू स्टारले मछिन्द्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो। ब्लू स्टारका लागि खेलको पहिलो हाफमा मोहमद इसान र सेनाल सन्देशले गोल गरे। यस्तै, मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए।

योसँगै मछिन्द्र एएफसी कप छनोटको प्लेअफबाटै बाहिरिएको छ। खेलको नवौं मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको मध्यभागबाट दिएको पासमा नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मछिन्द्र अग्रता लिन चुक्यो।

१५औं मिनेटमा ब्लू स्टारले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए। देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले पेनाल्टी दिएका थिए। तर, एरेपाडे ओम्बेबेको पेनाल्टी प्रहारलाई विशालले बचाए। रिवाउन्डमा सन्देशको प्रहारले पोस्टको दिशा लिन सकेन।

२४औं मिनेटमा फजलको फ्रिकिकमा मोहमद इसानले गोल गर्दै ब्लू स्टारलाई अग्रता दिलाए। विशाल राईले मोहम्मद असदलाई लडाएपछि प्राप्त फ्रिकिकलाई फजले चलाखीपूर्ण तरिकाले दिएको पासमा इसानले गोलरक्षक विशाललाई बिट गर्दै गोल गर्न सफल भए। २८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लू स्टारको अग्रता दोब्बर पारे। रन्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे।

३५औं मिनेटमा रेजिन धिमालको फ्रिकिकमा नुर्लान नोभ्रुजोभले प्रयास गरेपनि उनी अफसाइड ठहरिए। ३८औं मिनेटमा रेजिनको कर्नरमा विमलको हेडर प्रयासलाई देवेन्द्र तामाङले दोस्रो प्रयासमा गरेको प्रहारलाई ब्लू स्टारका गोलरक्षक लाकप्रिय फर्नान्डोले बचाए।

६७औं मिनेटमा मछिन्द्रले गोल अन्तर कम गर्ने मौका पाएको थियो। अभिषेक रिजालले प्रहार गरेको बललाई विमलले नियन्त्रणमा लिएका थिए। तर, उनले प्रहार गरेको बल बारमा लाग्दै फर्किएको थियो। त्यसपछि छिरिङ गुरुङले गरेको प्रहारलाई ब्यू स्टारका कप्तान थरिन्दु इरिन्जाले क्लियर गर्दिएर संकट टारे।

७६औं मिनेटमा मछिन्द्रले अर्को मौका खेर फाल्यो। रञ्जित धिमालले दिएको पासलाई कप्तान सुजल श्रेष्ठले हेडर गरेपनि गोलपोस्टको दिशा लिन सकेन। इन्ज्युरी समयको थप गरिएको चौंथो मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेललाई २–१ को अवस्थामा मछिन्द्रलाई फर्काए। उनले मनिष डाँगीको पासलाई सदुपयोग गरेका थिए।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो। मछिन्द्रको स्थानमा सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको त्रिभुवन आर्मी क्लबले खेलेको थियो। अब ब्लू स्टारले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। उक्त खेल अप्रिल १२ मा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0