पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

आईपिएल क्रिकेट

काठमाडौं : गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पञ्जाब किंग्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ। योसँगै लगातार तेस्रो जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।१ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

जितका लागि अन्तिम दुई बलमा १२ रन चाहिएको अवस्थामा राहुल टेवाटियाले लगातार दुई छक्का प्रहार प्रहार गर्दै गुजरातलाई रोमाञ्चक जित दिलाए। गुजरातको जितमा युवा ओपनर गिलले सर्वाधिक ९६ रनमा बनाए। उनले ५९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। उनी आईपीएल र टी२० करिअरको पहिलो शतक बनाउन चार रनले चुके । गिलले अघिल्लो खेलमा दिल्लीविरुद्ध ८४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए ।

दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६८ बलमा १ सय १ रनको शतकीय साझेदारीका गरेका थिए। डेब्यू खेल खेलेका सुदर्शनले ३० बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए। ओपनर म्याथ्यु वेड ६ रनमै आउट भएपनि उनले गिललाई राम्रो साथ दिएका थिए। राहुल टेवाटिया ३ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे। कागिसो रबाडाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। राहुल चाहरको नाममा १ विकेट रह्यो।

त्यसअघि ब्रबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। पञ्जाबका लागि मध्यक्रमका ब्याटर लिभिङस्टोनले ६४ रनको आक्रामक इनिङ्स खेले। उनले २७ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। उनको आईपीएलमा लगातार दोस्रो अर्धशतक हो। यसअघि चेन्नईविरुद्ध उनले ६० रनको इनिङ्स खेलेका थिए।

ओपनर शिखर धवन ३५ रनमा आउट भए। ओपनर तथा कप्तान मयंक अग्रवाल ५ र जोनी बेयरस्टो ८ रनमा आउट भए। जितिश शर्मा २३, शाहरुख खन १५ र ओडेन स्मिथ गोल्डेन डक आउट भए । राहुल चाहर २२ रनमा अविजित रहे।अर्शदीप सिंह १० रन जोडे। गुजरातका लेगस्पिनर राशिद खानले ३ विकेट लिए। दर्शन नालकाण्डेले २ विकेट लिए। मोहम्मद शामी, हार्दिक पान्ड्या र लोकी फर्गुसनले १–१ विकेट लिए।

पञ्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो। कोलकातासँग ६ विकेटले पराजित भएको पञ्जाबले चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको थियो। पञ्जाबले अब बुधबार मुम्बईसँग खेल्नेछ। गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दिल्लीलाई १४ रनले हराएको थियो। गुजरातले अब सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0