म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

फुटबल

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । पेप ग्वार्डिओलाको सिटीले बुधबार राति स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–० को अग्रता लिएको सिटीले समग्रमा १–० को विजय हासिल गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पछिल्लो समय संघर्ष गरिरहेको एट्लेटिको मड्रिडका अग्रपंक्तिले गएराति पनि विपक्षी रक्षापंक्ति तोड्न सकेनन् । जसका कारण रंगशालामा उपस्थित घरेलु समर्थक निराश भएर फर्किनु परेको थियो । यससँगै सिटी लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा छ ।

गत सिजनको उपविजेता सिटीले अब फाइनल प्रवेशका लागि स्पेनकै अर्को क्लब रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियालले मंगलबार राति प्रिमियर लिगकै अर्को क्लब चेल्सीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । रियालले साविक विजेता चेल्सीलाई समग्रमा ५–४ को नतिजामा हराएको थियो ।

‘‘हाम्रो प्रतिद्वन्द्वीलाई बधाई दिनुपर्छ । उनीहरुले उत्कृष्ट फुटबल खेले । जुन हामीलाई हेर्ने बानी परेको छ,’’ एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘‘प्रतियोगिताबाट बाहिरिदा पक्कै पनि दुःख लाग्छ । तर, हामी जे हौं र जसरी खेल्छौं । त्यसमा मलाई गर्व लाग्छ ।’’

एट्लेटिको मड्रिडको रक्षापंक्ति राम्रो मानिन्छ । तर, गएराति एट्लेटिकोले रक्षात्मक दृष्टिकोणलाई पछाडि छाड्दै केही उत्कृष्ट आक्रमण बुनेको थियो । तर, त्यसलाई सदुपयोग गर्न सकेन । इन्जुरी समयमा रक्षक फिलिपेले रातो कार्डको सामना गरेपछि एट्लेटिकोले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

‘‘दोस्रो हाफमा उनीहरुले धेरै राम्रो खेले । हामीलाई भाग्य साथ दियो र गोल खाएनौं,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अन्ततः सेमिफाइनलमा स्थान बनाउन सफल भयौं र त्यसका लागि हामी हकदार पनि थियौं ।’’ ग्वार्डिओला च्याम्पियन्स लिगमा ९ पटक सेमिफाइनल पुग्ने पहिलो प्रशिक्षक बनेका छन् । रियाल मड्रिडका कार्लो एन्सेलोट्टी र एएस रोमाका प्रशिक्षक जोजे माउरिन्होले समान आठ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0