आरसी–३२ एकेडेमीका खेलाडीको दादागिरी, भीआईपी बक्समै पुगेर हातपात

फुटबल

काठमाडौं । सहीद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार आरसी–३२ एकेडेमीका खेलाडीले प्यारापिटको भीआईपी बक्समै पुगेर हातपात गरेका छन् । इन्जुरी समय थप्नेबेला सम्म खेल पुल्चोक स्पाेर्ट्स क्लब र आरसी–३२ बीचको खेल १–१ को बराबरीमा थियो ।

इन्जुरी समय ६ मिनेट थप गरिएको थियो । इन्जुरी समयमा आरीसी–३२ ले अन्तिममा २–१ को अग्रता लियो । गोलको खुशीयाली मनाउनेक्रममा बेन्चमा रहेका खेलाडी तथा पदाधिकारी मैदानमा छिरेका थिए । बेन्चमा रहेका एक खेलाडीले रेफ्रीसँग विवाद गरेपछि सुमन श्रेष्ठले उनलाई पहेंलो कार्डको दर्शन गराएका थिए ।

लगत्तै पुल्चोकले बराबरी गोल फर्कायो । बराबरीमा सकिएपछि आरसी–३२ र पुल्चोकले अंक बाड्यो । आरसी–३२ ले दुई पटकको अग्रता जोगाउन नसक्दा खेलाडी आक्रोसित भएका थिए । मैदानमा खेलाडी आक्रोशित हुँदा भीआईपी बक्समा रहेका आरसी–३२ का अध्यक्ष रविन्द्र चन्द पनि आक्राेशित भए । उनी नजिकै रहेका रेफ्री एसेसर श्रीराम रञ्जितकारसँग आइलागेका थिए ।

रञ्जितकारविरुद्ध आक्रोशित रूपमा जाइ लागेपछि रिजर्भमा रहेका रेफ्रीहरू पनि आक्रोशित बनेका थिए । त्यो दृष्य देखेपछि मैदानमा रहेका खेलाडीहरू दौडँदै भीआईपी बक्समा पुगेर हात हालाहालको स्थिति सिर्जना भएको थियो । झन्डै दस मिनेटसम्मको घम्साघम्सीपछि अवस्था सामान्य बनेको थियो । बराबरीपछि आरसी–३२ ले ६ खेलबाट १६ अंक जोडेको छ । झापा फुटबल क्लबको पनि समान १६ अंक छ । समान १६ अंक भए पनि गोलअन्तरमा आरसी–३२ शीर्ष स्थानमा छ । पुल्चोक भने ४ अंकका साथ ११औँ स्थानमा छ । पुल्चोक रेलिगेसबाट बच्न संघर्ष गरिरहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
3
+1
1