गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै गतिविधिमा संलग्न नगराउनू भन्दै नेपाललाई फिफाको चेतावनी

समाचार

काठमाडाैं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुन विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) पुनः स्पष्ट पारेको छ । फिफाको १० वर्षको प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापालाई फिफाले कुनै खाले फुटबल गतिविधिमा संलग्न नहुन चेतावनी दिएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्व अध्यक्षमाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराएको एन्फाले आफ्नो वेभसाइटमार्फत जानकारी गराएको छ ।

‘जबसम्म प्रतिबन्ध कायम रहन्छ, फिफाले एन्फा र यसका सदस्यहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तर (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन जानाजान अनुमति नदिने अपेक्षा गर्दछ ’ पत्रमा उल्लेख गरिएको एन्फाले जनाएको छ । पत्रमा थापाले फिफाको निर्णय उल्लङ्घन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न भनिएको छ ।

सन् २०१५ मा फिफा एथिक्स कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने र लिने र घुसखोरी र भ्रष्टाचार गरेको आरोपमा १० वर्षको प्रतिबन्ध लागेको थियो । उनलाई दश वर्षको अवधिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र २० स्वीस फ्रान्क जरिवाना तिर्न आदेश दिएको थियो ।

एन्फाका अनुसार पत्रमा थापाले फिफाको निर्णय उल्लङ्घन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न चेतावनी समेत दिइएको छ । एन्फाका पूर्व अध्यक्ष थापाले वैशाख १८ गतेमा पत्रकार सम्मेलन गर्दै फिफाले आफूमाथि लगाएको प्रतिबन्धलाई सहजै स्वीकारेको जनाउँदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएका आरोपमध्ये १४ वटा बुँदा प्रमाणित गर्न चुनौती समेत दिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *