खेलाडी र प्रशिक्षक विवाद : अल्मुताइरीलाई हटाउन छानविन समितिको सिफारिस, यस्तो छ कारण

समाचार

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए ।

समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो । कतार फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी गैरव्यावसायिक भएको र खेलाडीको निजी जीवनमा समेत हस्तक्षेप गर्न खोजेको औंल्याइएको छ ।

यस्तै एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका १० जना खेलाडीलाई माफी मगाएर मात्र राष्ट्रिय टोलीमा स्थान दिन पनि सुझाव दिइएको छ । केही साताअघि प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्दले बन्द शिविर छाडेका थिए ।

त्यसको दुई दिनपछि अन्य ९ जना खेलाडीले पनि बन्द शिविर छाडेका थिए । अल्मुताइरीले नै आफूहरूलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि निस्किएको खेलाडीहरुको दाबी छ । बन्द शिविर छाडेका खेलाडीहरूलाई बाहिर राखेर एएफसी कप खेल्ने टोलीको घोषणा भइसकेको छ ।

खेलाडी प्रशिक्षक विवादको छानविन गर्न एन्फाको कार्यसमिति बैठकले भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो । छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक पनि रहेको ठहर गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0