अमेरिकामा रोहितको शतकीय पारीमा नेपालको सहज जित

क्रिकेट

काठमाडौं : सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए । यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए ।

बलिङमा नेपालका सोमपालले सर्वाधिक पाँच विकेट लिए । यसबाहेक, किशोर महतो र सागर ढकालले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा कप्तानी सम्हालेका रोहितले शतकीय इनिङ खेले । रोहितले ९० बलमा पाँच चौका र चार छक्कासहित एक सय एक रन बनाए । आरिफ सेखले ४१ रन बनाउँदा, देव खनालले १९, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाए ।

हरिकेन्सका मोहम्मद इल्यासले सर्वाधिक पाँच विकेट लिए । यस्तै, हर्मित सिंहले दुई र हसन रासिदले एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो । नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको सामना गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0