रोनाल्डोलाई भित्र्याउन जति पनि पैसा खन्याउन तयार चेल्सी

समाचार

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ । यस अघि रोनाल्डोले राम्रो प्रस्ताव आएमा क्लब छोड्न गरेको अनुरोधमा युनाइटेडले रोनाल्डोलाई नबेच्ने बताएको थियो । तर लगातार तेस्रो दिन नयाँ सिजनको प्रशिक्षणमा रोनाल्डो अनुपस्थित भएपछि क्लब रोनाल्डोको इच्छा विपरित नजाने निष्कर्षमा पुगेको ‘द सन’ ले उल्लेख गरेको छ ।

हाल रोनाल्डोलाई प्रिमियर लिग क्लब चेल्सीले भित्र्याउने चाहना देखाएको छ तर स्पष्ट रुपमा प्रस्ताव गरिसकेको रिपोर्ट भने आएको छैन । यसैबीच मिडिया रिपोर्टहरुमा चेल्सीले रोनाल्डो किन्न युनाइटेडलाइ छिट्टै प्रस्ताव गर्ने उल्लेख गरिएको छ । अन्य क्लबको तुलनामा रोनाल्डोलाई किन्न चेल्सी सबैभन्दा बढी उत्साहित रहेको बताइएको छ । खासगरी चेल्सीका नयाँ मालिक टोड बोएहलीले क्लबमा सुपरस्टारलाई भित्र्याएर क्लबको नाम र ब्राण्डलाई ठुलो बनाउने योजना बनाएका छन् । अहिले पनि विश्वफुटबलमा रोनाल्डोको नाम अगाडी रहेकाले त्यसको फाइदा चेल्सीको नयाँ व्यवस्थापनले उठाउन खोजेको बताइएको छ । चेल्सीले रोनाल्डो बाहेक म्यानचेस्टर सिटीका रहीम स्टरलिङलाई भित्र्याउने लगभग तय भइसकेको छ ।

चेल्सी बाहेक यस अघि बायर्नम्युनिखले चासो देखाएपनि हाल बायर्नले रोनाल्डोलाई किन्ने कुनै योजना नबनाएको रिपोर्ट आएको छ । त्यस्तै रोनाल्डोलाई सिरी ए क्लब नापोली र जोसे मोरिन्हो म्यानेजर रहेको एएस रोमाले पनि चासो देखाएको बताइएको छ । त्यस्तै रोनाल्डोका सुपर एजेन्ट जर्ज मेन्डेजले स्पेनिस ला लिगा एथलेटिको म्याड्रिड र रोनाल्डोको पुर्व क्लब रियल म्याड्रिडसंग पनि छलफल गरिरहेको मिडिया रिपोर्ट बाहिर आएको छ ।

यसैबीच रोनाल्डोले पारिवारिक कारण देखाउदै सोमबारदेखि शुरु भएको क्लबको प्रि-सिजन प्रशिक्षणमा सहभागिता जनाएका छैनन् । उनी हाल आफ्नो देश पोर्चुगलमा रहेको बताइएको छ । उनले गत शनिबार क्लबलाई आफुले छोड्न चाहेको जानकारी गराएका थिए । युनाइटेड शुक्रबारदेखि प्रि-सिजन टूरमा निस्किने भएपनि अहिलेसम्म रोनाल्डो टिमसँग हुन्छन या हुदैनन् अनिश्चित रहेको छ । युनाइटेडले आफ्नो प्रि-सिजन टूरको पहिलो खेल बैंककमा जुलाई १२ मा लिभरपुलविरुद्ध खेल्दै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0